महरालाई कारबाही नगरेकोमा नेपाल प्रहरीसँग प्रधानमन्त्री रुष्ट

महरालाई कारबाही नगरेकोमा नेपाल प्रहरीसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा तथा उनका सुपुत्र राहुल महराको सुन तस्करहरूसँगको साँठगाँठको अनुसन्धन नगरेकोमा  प्रहरीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुष्ट रहँदै आएका छन् । 

महरा बाबु छोराको नाम पुलिस रिपोर्टमा शंकास्पदको सूचीमा राख्ने तर उनीहरूविरुद्ध मुद्दा नचलाउने कार्य गरेकाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्त्वप्रति नै प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।

“प्रहरीका आईजीपी र सीआईबीका प्रमुखलाई गृहमन्त्रीकै अगाडि राखेर महराजीको विषयमा के भएको हो भनेर सोधेका थियौं । उहाँहरूले पहिले नराख्नुपर्ने नाम परेको भनेर बहाना बनाउनु भयो । त्यस्तो हो भने जनता समक्ष गएर सीआईबीले गल्ती भयो भनेर सच्याउनुपर्‍यो भनियो । त्यसपछि फेरि महराका बाबु छोरालाई पनि अनुसन्धानको घेरामा ल्याउँछौं भन्नुभयो,” प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग भने । 

आफ्नो निकटको नेता भनेर आफूले बचाउन नखोजेको र प्रहरीलाई पनि बचाउनुपर्दैन भन्दा भन्दै सरकारको विश्वसनीयतामा प्रश्न उठ्ने कार्य भएको कुरा प्रधानमन्त्री दाहालको टिप्पणी थियो ।

आफूले दोषी पाइए माओवादीकै नेतालाई पनि नछोड्न निर्देशन दिए पनि प्रहरीले अनुसन्धानलाई तीव्रता दिन नसकेको उनको आरोप थियो ।