दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।
आज नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए। अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो ।
निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए ।
सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाई छ ।