राष्ट्रपति पौडेलसँग ओलीको गुनासो -'देउवालाई प्रचण्डले मोहनी लगाए, देश भड्खालोमा जाने भयो'

राष्ट्रपति पौडेलसँग ओलीको गुनासो -'देउवालाई प्रचण्डले मोहनी लगाए, देश भड्खालोमा जाने भयो'

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेका छन् ।  भेटमा उनीहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल भएको  बताइएको छ । 
     
भेटमा राष्ट्रपति पौडेलले संसद् बैठक अवरुद्ध हुँदा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको जनाइएको छ  । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलबीच विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । 

तर ओलीले भने सरकारको काम कारबाहीप्रति आपत्ति जनाएका थिए । 'सरकारले देशलाई भड्खालोमा हाल्ने देखियो । कांग्रेसले सरकारका हरेक गतिविधिमा साथ दिएर ठिक गरेन', ओलीको भनाइ उध्रित गर्दै शितलनिबास स्रोतले भन्यो । 

साथै ओलीले प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई मोहनी लगाएको गुनासो पौडेलसँग गरेको बताइन्छ । हरेक काममा ठिक बेठिक नछुट्याइ कांग्रेसले सरकारलाई साथ दिएकोले प्रचण्डले मनपरी गरिरहेको उनको गुनासो थियो ।