भोलीदेखि देशभर भारी वर्षा हुने, बाढीको उच्च जोखिम

भोलीदेखि देशभर भारी वर्षा हुने, बाढीको उच्च जोखिम

काठमाडौं । केहीदिन यता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ । त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ । एरिया कभरेजको हिसाबले र मात्राको हिसाबले पनि धेरै पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद महर्जनले जानकारी दिइन् । ‘हिजो र आज अलिकति कम पानी परेको देखिएको छ, भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने क्रम फेरि बढ्ने छ ।’ उनका अनुसार सोमबारसम्मै मनसुन सक्रिय रहने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना छ । तर पूरै प्रदेशभर नभई एक–दुई स्थानमा मात्र भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

भोलि (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । शनिबार राति भने सुदूरपश्चिम प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिदेखि देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । पर्सि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।