एमालेको अवरोधका कारण संसद् बैठक पुन स्थगित, गृहमन्त्रीको जवाफ अस्वीकार

एमालेको अवरोधका कारण संसद् बैठक पुन स्थगित, गृहमन्त्रीको जवाफ अस्वीकार

काठमाडौं । नेकपा एमालेको अवरोधपछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।

संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागपछि सभामुख देवराज घिमिरले साउन बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।

त्यसअघि प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताएका थिए । बैठकमा उनीहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैले आआफ्ना असन्तुष्टि व्यक्त गर्न र समस्याको समाधान खोज्न सदन अवरोध गरेर नभई सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिए । उनले संसद्भित्र गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण भइरहेको भन्दै सरकारको ध्यानार्कषणसमेत गराए ।
    
बैठकमा सांसद प्रेम सुवालले पटकपटक हुने सुन तस्करी प्रकरणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । सांसद राजकिशोर यादवले सदन अवरुद्ध हुँदा जनताका मुद्दा ओझेलमा परेको बताए । 

यस्तै, सांसद मेटमणि चौधरीले सरकारी निकायको संयन्त्रप्रति विश्वास गर्नुपर्ने बताए । अर्का सांसद अमरेशकुमार सिंहले सरकारी संयन्त्रप्रति अविश्वास बढ्दै गएको भन्दै सरकारको ध्यानार्कषण गराए।