चितवनमा ४० हजार ६ सय ६४ सवारीचालकलाई कारबाही

चितवनमा ४० हजार ६ सय ६४ सवारीचालकलाई कारबाही

काठमाडौं । चितवनमा गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ६ सय ६४ जना सवारीचालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार  राजस्व सङ्कलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो । 

कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक ७ हजार ७५, बस तथा माइक्रोबसका चालक ४ हजार १ सय ९४, जीप तथा कारका चालक ७ हजार ७ सय १२, ट्र्याक्टर चालक १ हजार ६ सय ९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार १ सय ७  र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक ६ हजार ९ सय ६७ रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । 

गत आ.व.मा ३ सय ३ सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा १ सय ७० जना गम्भीर र ४ सय ११ जना सामान्य घाइते भएको उनले बताए । सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १ सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।