काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने विषयमा सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। सहमतिलगत्तै पर्सि मङ्गलवार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको आचार्यले जानकारी दिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आउँदो २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म परिषद्को बैठक नै बस्न नसकेको हो ।