काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको तानसेन–बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नं–३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।
यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ । अहिले सुरुङमार्ग आयोजना अन्तर्गतको मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । ठूला ढुंगासहित पहिरो खसेको हुँदा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेको थियो ।
वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहँदा सवारी आवागमनसँगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईका लागि यात्रामा निस्किएका यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक खुलाउन कम्तिमा दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।