आज यी जिल्लामा बाढीको जोखिम

आज यी जिल्लामा बाढीको जोखिम

काठमाडौँ । पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भईरहेको छ । 

उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ । 

यसैबीच, तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतह  खतराको तहभन्दा निकै माथि पुगेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ । 

हाल दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्युठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । राप्ती र बबईको साना नदी, दाङ र प्युठानको खहरे खोलामा एक्कासि बाढी आउनसक्ने भएकाले सतर्क रहन महाशाखाले  भनेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेकोले यस क्षेत्रमा पनि विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।