कोशी प्रदेश  : मुख्यमन्त्री नियुक्ति विवादबारे आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी प्रदेश  : मुख्यमन्त्री नियुक्ति विवादबारे आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । अब यो मुद्दा मंगलबारदेखि नै तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ । पूर्ण इजलास आज तोकिने छ ।

सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।