नेपालमा तत्काल भारी वर्षाको सम्भावना छैन

नेपालमा तत्काल भारी वर्षाको सम्भावना छैन

काठमाडौं । नेपालमा तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज, भोलि र पर्सि (तीन दिन) ठूलो पानी नपर्ने महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिए । ‘तत्काल भारी वर्षाको सम्भावना छैन, केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ,’ उनले भने ।

केही दिनयता पहाडी क्षेत्रमा वर्षा भए पनि त्यसको तुलनामा तराईमा कम पानी परिरहेको छ । यस्तो अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान छ ।
पानी पार्ने मनसुनी रेखा मध्य भारतमा अवस्थित भएकाले केही दिनयता कम पानी परिरहेको छ । मौसमविद श्रेष्ठले मनसुनी रेखा तत्काल नेपालतर्फ सर्ने सम्भावना नदेखिएकाले कम पानी परिरहेको बताए ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनी रेखा भारतमा हुनु भनेको नेपालमा मनसुनी वर्षा रोकिनु हो । स्थानीय प्रणालीका कारण केही क्षेत्रमा वर्षा हुने भए पनि तराई मधेशका अधिकांश स्थानमा सुख्खा हुन्छ । अहिले मनसुनी रेखा नेपालबाट सुदूर दक्षिणमा रहेकाले तराई क्षेत्रमा पानी पर्न रोकिएको छ ।

त्यसो त यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण मौसमविदहरुले गरेका थिए । अहिलेसम्म पूर्वानुमान अनुसार नै वर्षा भइरहेको मौसमविद् श्रेष्ठले बताए ।