‘बजेटका लक्ष्यहरु पुरा गर्ने गरी मौद्रिक नीति आउँछ’ : गर्भनर अधिकारी

‘बजेटका लक्ष्यहरु पुरा गर्ने गरी मौद्रिक नीति आउँछ’ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पुरा गर्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गनृ सक्ने नीति आउनेमा गर्भनर अधिकारीले विश्वस्त पारेका छन् । बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको औलाए । 

उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताए । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको जिकिर गरे । 

करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको गर्भनर अधिकारीको दावी छ । भुक्तानी सन्तुलन र विदेशी विनिमय गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको उनले बताए । वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको उनले बताए । बजारमा शिथिलता रहेको र यसको प्रभाव रिकभरीमा परेको उनले बताए ।

बैकिङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहने उनको भनाइ छ ।