आन्तरिक मूल्याङ्कन मापदण्ड–२०८० सार्वजनिक

आन्तरिक मूल्याङ्कन मापदण्ड–२०८० सार्वजनिक

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० सार्वजनिक गरेको छ । आन्तरिक मूल्याङ्कनका आधारहरु वैज्ञानिक बनाउन मापदण्ड तयार गरिएको केन्द्रले जनाएको छ ।

नयाँ पाठ्यक्रम लागू भएसँगै २५ प्रतिशत विद्यालयले मूल्याङ्कन गरेको आधारमा अंक पठाउने र ७५ विद्यार्थीले दिएको बाह्य परीक्षाको आधारमा मूल्याङ्कन हुने व्यवस्था थियो । तर विद्यालयले विद्यार्थीको दैनिक गतिविधि मूल्याङ्कन गर्नेभन्दा पनि मुख हेरेर दिने गरेको पाइएपछि कुनै पनि विद्यार्थीलाई मर्का नपर्ने गरी विद्यार्थीको सक्रियता, सहभागिता र प्रस्तुतिलाई मूल्याङ्कन गर्नको लागि मापदण्ड तयार पारिएको केन्द्रले जनाएको छ । यसरी मूल्याङ्न हुँदा कोही पनि मर्कामा नपर्ने बताए । नयाँ पाठ्यक्रम लागू भएसँगै अब कक्षा १० को गणित विषयमा पनि आन्तरिक मूल्याङ्कन हुनेछ ।

केन्द्रले सार्वजनिक गरेको आधारभूत तह (कक्षा ४–८) र तथा माध्यमिक तह (कक्षा ९–१२) को मापदण्ड अनुसार आन्तरिक मूल्याङ्कनको २५ प्रतिशत अंक भार हुनेछ । प्रत्येक विद्यार्थीको कार्य सञ्चयीकालाई अद्यावधिक गरी व्यवस्थापन गर्नुपर्नेछ । मापदण्डले तोकिए अनुसार भारको अङ्क आन्तरिक मूल्याङ्कनका रुपमा समावेश गरिनुपर्ने मापदण्डले उल्लेख गरेको छ । मापदण्डले मूल्याङ्कनका तीन क्षेत्र अनुसार अंकभार निश्चित गरेको छ । उपस्थिति र कक्षा सहभागिता (उपस्थिति र सिकाइमा सक्रियता र सहभागी)को लागि ३ अंक भार, प्रयोगात्मक÷परियोजना कार्य र सिर्जनात्मक कार्य र प्रस्तुतिमा (सुनाइ, बोलाइ र पढाइ भाषिक सिपको मूल्याङ्कन) १२ अंकभार, सिर्जनात्मक र परियोजना कार्यको मूल्याङ्कन ४ अंकभार गरी १६ अंकभार त्रैमासिक परीक्षामा ६ अंक भार गरी जम्मा २५ अंक भार आन्तरिक मूल्याङकनको हुने जनाएको छ ।

त्रैमासिक परीक्षा लिंदा सुरु इकाइदेखि पठनपाठन भएका इकाइसम्मका सबै इकाइबाट विशिष्टीकरण तालिकाका आधारमा प्रश्न सोध्नुपर्ने र त्रैमासिक परीक्षा विद्यार्थीको सिकाइ सुधारका लागि आन्तरिक मूल्याङ्कनको अंकभार ६ हुनेछ । यी तीन क्षेत्रभित्र पनि मूल्याङ्कन विभिन्न सूचकहरु तोकिएका छन् सूचक अनुसार अंकभार तोकिएको छ ।

यसले विद्यार्थीको नतिजामा धेरै ठूलो परिवर्तन ल्याउने केन्द्रका निर्देशक तथा सूचना अधिकारी ढुंगानाको दाबी छ । अब विद्यार्थी, अभिभावकले हरेक महिना हुने मूल्याङकनबारे जानकार हुने भएकोले नतिजा सुधार हुने सम्भावना छ । 

परिवर्तित पाठ्यक्रम अनुसार मूल्याङ्कनले सिकाइका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न सिकाइमा थप सुधारका लागि मार्ग प्रशस्त गर्न सक्ने व्यवस्था गरेको र त्यस अनुसार विद्यार्थीको नियमित सिकायबाट हुने उपलब्धिलाई व्यवस्थित गर्नु, वस्तुनिष्ठ बनाउनु, वैज्ञानिक तथा भरपर्दो बनाउनु लगायतको उद्देश्यले मापदण्ड तयार गरिएको केन्द्रले जनाएको छ ।