आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने

आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने
फाईल तस्वीर

काठमाडौं । आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने भएको छ । सरकारले आगामी आ. व. २०८०/८१ बाट हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आउँदा भाडा शुल्क वृद्धि हुन लागेको हो । वायुसेवा कम्पनीहरुका अनुसार सोही अनुसार वायुसेवा सञ्चालक संघमा आबद्ध सबै कम्पनीहरु भ्याटमा दर्ता भइ टिकटमा लाग्ने भ्याट कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् ।

नेपालमा वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट लाग्छ । हवाई टिकटमा भ्याट कार्यान्वयन गर्दा हवाई टिकट ६ प्रतिशत हाराहारी मात्र बढ्नेछ । हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री तथा उपकरण खरिदमा तिरेको भ्याट कम्पनीहरुले फिर्ता दाबी गर्न पाउने भएकाले जति प्रतिशत कर लाग्ने हो, मूल्य त्यति नै बढ्दैन । 

नयाँ प्रावधान अनुसार भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जाको आयातमा १३ प्रतिशत भ्याट जोडिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक यात्रुबाट विमानस्थल विकास शुल्कका नाममा ५०० रुपैयाँ लिन्छ । यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । सोहीकारण कम्पनीहरु भ्याटमा दर्ता समेत हुनु अनिवार्य थिएन । अब भने सबै कम्पनी भ्याटमा दर्ता भइ कारोबार गर्नुपर्ने भएको छ ।