कांग्रेस महाधिवेशन : कहिले के हुन्छ ?

कांग्रेस महाधिवेशन : कहिले के हुन्छ ?

काठमाडौं । मुलुककै सभैन्दा पुरानो लोकतान्त्रिक पार्टी एवं हाल सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । 

उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु उद्घाटन समारोहमा पुगेका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुुर देउवाले महाधिवेशनको उद्घाटन गरेसँगै स्वदेशी तथा विदेशी पाहुनाहरुले शुभकामना दिने क्रम जारी छ । भारतबाट आएका नेतागणहरुले शुभकामना दिएका छन् । 

कोरोना महामारीका कारण सोचेअनुरुप विदेशी नेता गणहरुले भने उपस्थित जनाएनन् । 

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका 

उद्घाटन सत्र सकिएपछि आज नै बन्द सत्र शुरु हुनेछ । महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यस्तै दावी विरोधको समय सोही दिन बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही दिन नै राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छ। यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २७  मंसिरको बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै शुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ। यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ।

सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न ८ वटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित सदस्य निर्वाचित हुनेछन् ।

कार्यसमितिमा एक जना सहमहामन्त्रीसहित विभिन्न क्लस्टर र भौगोलिक क्षेत्रबाट ४० जना महिला केन्द्रीय समितिमा पुग्नेछन् ।  त्यसैगरी एक–एक जना सहमहामन्त्रीसहित दलित ९, आदिवासी–जनजाति १५, खसआर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सबै क्लस्टरमा महिला कोटा आरक्षित छ ।

खुलाबाट ३५ सहित अल्पसंख्यक र अपांगता भएकाबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सभापतिसहित दुई–दुई जना उपसभापति र महामन्त्री भने खुला प्रतिस्पर्धाबाट चुनिनेछन् । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको छ । महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । 
पार्टीको आधिकारिक वेबसाइटमा करिब ८ लाख ४० हजार १ सय ६ क्रियाशील सदस्यको सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ । 

छुटाउनुभयो कि ?