फेरि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

फेरि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं ।  चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले विभिन्न माग राख्दै पुनः अनसन बस्ने चेतावनी दिएका छन् । 

डा.केसीले खगेन्द्रप्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल  बर्खास्त गर्नुपर्ने माग गर्दै अन्यथा पुनः अनसन बस्ने चेतावनी दिएका हुन् । 

बिहीबार पूर्वी रुकुमबाट एक विज्ञप्ती जारी गर्दै डा.केसीले अनसनको चेतावनी दिएका छन् । 

डा. केसीले अधिकारीलाई उपाध्यक्षबाट तत्काल बर्खास्त गर्नुपर्ने, बीपी प्रतिष्ठान धराका पदाधिकारीलाई बखाृस्त गरी आयोग बनाएर छानबिन सुरु गर्नुपर्नेलगायतका माग गरेका छन् । 

विज्ञप्तिमा भनेका छन्, ‘विसं। २०८५ देखि नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस्।

अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गरियोस् ।

२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्‍याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं। २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस्।

हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस्। काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस्।’