एमाले महाधिवेशन : अध्यक्षमा आज निर्वाचन, ओली र रावल मैदानमा

एमाले महाधिवेशन : अध्यक्षमा आज निर्वाचन, ओली र रावल मैदानमा

काठमाडौं । एमालेको दशौं महाधिवेशन अन्तरगत अध्यक्षसहित विवाद रहेका केही पदमा आज निर्वाचन हुँदै छ।  सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्ततः आफूले भने प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयास असफल भएको हो।  त्यसका लागि आज मानोनयन दर्ताको कार्यक्रम छ। 

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ। नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन्। 

त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ। उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ। केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ। त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ।