एमालेमा जुटेन सहमति, अध्यक्षमा भोट माग्दै भीम रावल

एमालेमा जुटेन सहमति, अध्यक्षमा भोट माग्दै भीम रावल

काठमाडौं । नेकपा एमालेमा १० महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थालेका छन् । उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेका हुन् । 

उनले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गरिरहेका छन् । यसअघि शुक्रबार साँझ पनि आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताएका थिए । केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ ।

यसैबीच रावलले अध्यक्षमा भोट नै माग्न थालेपछि निर्वाचन हुने सम्भावना थप बढेको हो । यता वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका सुवास नेम्वाङ पनि पछि हट्न नमानेपछि एमालेमा सहमतिको सम्भावना टरेको हो ।