काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।
शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।
माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ । माओवादीले पार्टीले विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।
पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिइएको छ ।