एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, अध्यक्ष ओली आज चितवन जाँदै

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहलसमेत बढेको छ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेताहरु चितवन आउने क्रम जारी छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताइन्।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ। मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको उनले बताइन्। यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ। मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ। यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ। 

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन्। 

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान साढे ११ बजे चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आज अध्यक्ष ओली सौराहामा हुने बुद्धिजीवी परिषद्को बैठकमा सहभागी हुनेछन्।