काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ । उक्त महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व र उच्च प्रतिनिधि पाउँदैछ ।
नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले निर्वाचनका लागि आन्तरिक तयारी पूरा गरेको जानकारी दिएको छ ।
महाधिवेशनको उद्घाटन समारोह मंसीर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुनेछ भने त्यहीबाट निर्वाचन प्रक्रिया हुनेछ ।
११ गते उम्मेदवारी दर्ता गराएपछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरिने कार्यक्रम रहेको छ । त्यस्तै मङ्सिर १२ गते मतदान प्रक्रिया हुने छ ।
मतदान प्रक्रियाका लागि एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन)को प्रयोग हुनेछ । आयोगले ९२ वटा मेशिनहरू निर्वाचनका लागि प्रयोग गर्ने छ भने तीन वटा नमुना मतदानका लागि प्रयोग गर्नेछ । त्यस्तै पाँच वटा मेशिनहरू जगेडामा राखिने आयोगले जनाएको छ ।
एउटा मेशिनमा करिब २२ जनादेखि ३० जनाले मतदान सक्नेछन् । कुनै मेसिनमा समस्या आए जगेडामा राखिएको मेसिन प्रयोगमा ल्याउने तयारी छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिव आधा घण्टा लाग्ने अनुमान गरिएको छ । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा आउन सक्नेछ ।