चितवन । पर्सी शुक्रबारबाट चितवनमा सुरु हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।
एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।
एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।
यसरी बनाइएको मस्कट
मूर्तिकारले विशेष गरी कास्टिङ र कार्बिङ गरेर दुई किसिमले मूर्ति बनाउँछन् । कार्बिङमा काठ र डुङ्गामा मूर्ति बनाइन्छ भने कास्टिङमा चाहिँ सिमेन्ट, फाइबर र धातुको प्रयोगबाट मूर्ति बनाइन्छ ।
गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो ।
यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमूना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छौं, कलाकारिताको काम यसमा हुन्छ । त्यसपछि अर्को आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनाऔँ । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रुप तयार भयो,’ उनले भने ।
तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरिरजस्तो देखिनेगरी ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।