७ सय ९२ मतका साथ देउवा महाधिवेशन प्रतिनिधि चयन

७ सय ९२ मतका साथ देउवा महाधिवेशन प्रतिनिधि चयन

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि प्रतिनिधिमा निर्वाचित भएका छन्। गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। बमका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो। देउवाले शतप्रतिशत मत भने पाएनन्।

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी भएका छन्।

यसैगरी, डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन भएकी छन्। खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।