काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सुरु गरेको हो।
कांग्रेसले देशैभरका एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन हुने कार्यतालिका छ। मंसिर ९ गतेसम्म अधिवेशन गरिसक्नुपर्ने छ। कार्यतालिकाअनुसार मंसिर १० गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ। यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।
तर, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने सोमबार अधिवेशन नहुने भएको छ। तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्लाबाहेक अन्य ठाउँमा सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रतनिधि सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू सदस्य मानिन्छन्। उक्त क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार पनि अधिवेशनका सदस्य रहने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ।