इन्टरपोलको बैठकमा सहभागी हुन प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

इन्टरपोलको बैठकमा सहभागी हुन प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौं । इन्टरपोलको बैठकमा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापासहितको टोली टर्की प्रस्थान गरेको छ। उनीहरु आइतबार बिहान टर्कीतर्फ लागेका हुन्। टोलीमा आईजीपी थापासँगै एआईजी प्रद्युम्न कार्की र एसपी सविन प्रधान छन्।

आफ्नो अनुपस्थितिमा थापाले निमित्त आईजीपीको जिम्मेवारी बरियताक्रममा दोस्रो नम्बरमा रहेका एआईजी निरजबहादुर शाहीलाई तोकेका छन्। प्रहरी तालिम केन्द्रमा रहेका शाहीले थापाको अनुपस्थितिमा निमित्त आईजीपीको जिम्मेवारी सम्हाल्ने छन्।

वरीयता क्रममा पहिलो नम्बरमा रहेका एआईजी हरिबहादुर पाललाई निमित्तको जिम्मेवारी नदिएर थापाले दोस्रो वरियताका शाहीलाई दिएका हुन्। पाल अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा छन्।

आईजीपी थापाले केही समयअघि भारत भ्रमणको क्रममा पनि निमित्तको जिम्मेवारी पाललाई दिएका थिएनन्। त्यो बेला निमित्तको जिम्मेवारी एआईजी प्रद्युम्न कार्कीलाई दिइएको थियो। प्रहरी मुख्यालयमै रहेका कारण उनलाई जिम्मेवारी दिइएको भनिएको थियो।