एकीकृत समाजवादी प्रदेश २ को सरकारमा सामेल, दुई मन्त्रीले खाए शपथ

एकीकृत समाजवादी प्रदेश २ को सरकारमा सामेल, दुई मन्त्रीले खाए शपथ

जनकपुर । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ। लामो रस्साकस्सीपश्चात् दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज आइतबार बिहान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी भएको हो। 

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवले पाएका हुन्। दुवै मन्त्रीले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ खाएका छन्। 

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन्। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्री राउतले गत मंगलबारै जसपाको भागको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारीबाट रामनरेश रायलाई बर्खास्त गरेका थिए। 

केन्द्र सरकारमा बनेको पाँचदलीय गठबन्धनबमोजिम एकीकृत समाजवादी प्रदेश २ को सरकारमा सहभागी भएको हो। योसँगै प्रदेश नम्बर २ को सरकारले पूर्णता पाएको छ। कांग्रेस तीन मन्त्रालयसहित गत जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भइसकेका छन्।