राष्ट्रिय सभाको चुनाव माघ १२ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रिय सभाको चुनाव माघ १२ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनाव हुने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ ।

रिक्त हुने २० मध्ये १९ पदका लागि चुनाव गर्ने मिति तोकिएको हो ।  एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् । राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।

संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोकेको हो । संविधानको धारा ८६ मा राष्ट्रिय सभा गठनसम्बन्धी व्यवस्थामा कुल ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने उल्लेख छ ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने गर्दछ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ । त्यही प्रावधानअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० गते सकिन लागेको हो ।