काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको हो । आज विहान सर्वाेच्चको प्रांगनमा आन्दोलनरत कानुन व्यवसायीहरुमाथि प्रहरीको हस्तक्षेपका कारण नेपाल बार एसोशियसनका अध्यक्षसहित एक दर्जन घाइते भएका थिए । उक्त घटनाप्रति आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
त्यसैगरी बारको नेतृत्वमा भइरहेको आन्दोलनमा मानव अधिकार आयोगले दृष्टिगत गरिरहेको बताउँदै शान्तिपूर्ण आन्दोलनमा धरपकड हुनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगको भनाइ रहेको छ । त्यस्तै आजको आन्दोलनका क्रममा घाइते भएकाहरुको निशुल्क उपचारको व्यवस्था गर्न समेत आयोगले माग गरेको छ ।