जबरालाई तत्काल महाअभियोग लगाऊ : पूर्वन्यायाधीश फोरम

जबरालाई तत्काल महाअभियोग लगाऊ : पूर्वन्यायाधीश फोरम

काठमाडौँ । पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलित बनिरहेका बेला पूर्व न्यायाधीश फोरमले पनि जबराको महाअभियोग लगाउन प्रस्ताव गरेको छ । 

पूर्वन्यायाधीश फोरमले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै जबरालाई महाअभियोग लगाउन पर्याप्त प्रमाणहरु भएको भन्दै  राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।

पूर्वन्यायाधीशहरुले वार्ता आह्वान गर्दै जबराले जारी गरेको विज्ञप्तिलाई न्यायमा बिचलन र भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास भनेका छन् ।

फोरमले रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा  महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएको भन्दै सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गरेको छ । 

पूर्वन्यायाधीश फोरमका अध्यक्ष एवं सर्वोच्चका पूर्वन्यायाधीश टोप बहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरिएको विज्ञप्ति न्यायका बिचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास मात्र भएको र उक्त विज्ञिप्त न्यायालयको हितमा देखिदैन ।,’ 

फोरमले जबराविरुद्धको बार र न्यायाधीशले जारी राखेको आन्दोलनमा ऐक्यवद्धता जनाउने समेत उल्लेख गरेका छन् । त्यस्तै न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा मात्रै पर्याप्त नभएको भन्दै फोरमका अध्यक्ष सिंहले प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रावधान पनि सच्याउनु आवश्यक रहेको औल्याए । उनले यदि जबराले राजीनामा नदिए तत्काल दलहरुले महाअभियोग लगाउनुपर्ने धारणा व्यक्त गरे ।