कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ। ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ।

साथै आजको बैठकले निर्वाचन समितिको कार्यतालिका समेत पारित गर्नेछ। बैठकमा महाधिवेशन सफल बनाउन व्यवस्थापकीय समिति बनाउनेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने उनले बताए।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ। यसैगरी विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम अनुमोदन केन्द्रीय समितिले गर्ने भएको छ। प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिलाई निश्चित अवधि उपलब्ध गराउने जनाएको छ।

यस्तै मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे पनि छलफल हुनेछ। गठबन्धनले बनाएको राजनीतिक समिति, न्यायालयलगायतबारे पनि छलफल हुन सक्ने प्रवक्ता शर्माले बताए।

पदाधिकारी बैठकमा न्यायालयका विषयमा पनि कुरा उठेको बताउँदै प्रवक्ताशर्माले केन्द्रीय समिति बैठकमा यस विषयमा थप छलफल हुन सक्ने बताए।