काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज देशभरबाट एकसाथ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। त्यसका लागि एमालेले देशभर आज एकैसाथ चुनाव गर्ने भएको छ। पार्टीमा संगठित भएका सदस्यहरुले प्रतिनिधि चयन गर्ने छन्। नेकपा एमालेका अनुसार पार्टीमा हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्।
महाधिवेशनका लागि एमालेले कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने जनाएको छ। कतिपय जिल्ला र क्षेत्रमा यसअघि नै सर्वसम्म प्रतिनिधि चयन भइसकेका छन्। प्रतिनिधि चयन सकेसम्म सहमतिमै गर्न एमालेले आग्रहसमेत गरेको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्नुपर्ने एमालेले जनाएको छ।
यसमा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन गर्नुपर्ने एमालेले जनाएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म एमाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुँदैछ।