बाबुराम र विप्लवसँग पनि पार्टी एकता हुन्छः प्रचण्ड

बाबुराम र विप्लवसँग पनि पार्टी एकता हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी छोडेर हिँडेका नेताहरु फर्केर आउने विश्वास व्यक्त गरेका छन् । बाबुराम, किरण, विप्लव लगायतका नेताहरुलाई अंकमाल गर्ने दिनको प्रतिक्षामा आफू रहेको उनले बताए ।

विप्लव समूहबाट माओवादीमा आएकाहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’

प्रचण्डले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा जोड दिए ।पार्टी प्रवेश गर्नेलाई धन्यवाद दिँदै प्रचण्डले भने, ‘तपाईंंहरुले सही निर्णय लिनुभएको छ । ब्यूँझेर आउनुभयो । अरु पनि चाँडै ब्यूँझिनेछन् । बाबुरामजी, किरणजी, विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ । उहाँहरुलाई अंकमाल गर्ने, हात मिलाउने दिनका प्रतिक्षामा छु ।’