एमसीसीले नेपालको हित गर्दैन, याे फिर्ता लैजानुस् : वामदेव गौतम

एमसीसीले नेपालको हित गर्दैन, याे फिर्ता लैजानुस् : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्न आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमत विभाजन गर्ने भन्दै नेपाल सरकारलाई उक्त सम्झौता फिर्ता गर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न, यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु ।’

अमेरिकालाई नेपाली जनताले राम्रो मान्दै आएको र एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका गर्न थालिएको बताए । उनले भनेका छन्, ‘यो सम्झौताले नेपालका छिमेकी मुलुकहरुसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने आशंका व्यक्त भइरहेका देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा समेत आँच पुग्ने शंका गर्न थालिएको छ ।’