प्रधानन्यायाधीशले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी

प्रधानन्यायाधीशले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी

काठमाडौं । असन्तुष्ट न्यायाधीशहरूसँग बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकको पेसी नतोक्ने ‘भद्र सहमति’ गरेका प्रधानन्यायायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त सहमति तोडेका छन् । न्यायाधीशहरूसँगको वार्तामा बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दाको पेसी नतोक्ने बताएका जबराले  मंगलबार सबै खाले मुद्दाको पेसी तोकेका छन् । 

जबराले आफ्नो एकल इजलासमा पनि एउटा मुद्दाको  पेसी तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन् । जबराले पेसी तोके पनि अरू न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना मंगलबार पनि कम छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ । उनीविरुद्ध बारले आज थप विरोधका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।