अब बंगलादेशलाई पनि बिजुली बेच्छौंः मन्त्री भुसाल

अब बंगलादेशलाई पनि बिजुली बेच्छौंः मन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुमा विद्युत बिक्रीको बाटो खुलेको बताएकी छन्। मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको बताउँदै बंगलादेशसँग पनि सकारात्मक ढंगले कुरा अघि बढिरहेको जानकारी दिइन्। 

भारतमा विद्युत व्यापार शुरु भइसकेको बताउँदै उनले यस प्रकारको व्यपार दक्षिण एसियाकै पहिलो भएको जिकिर गरिन्। मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएकाले आन्तरिक खपत बढाउनुपर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन्। 

यसले विद्युतको व्यापार मात्रै नभइ व्यापार घाटालाई न्यूनीकरण गर्ने भुमिका खेल्ने पनि उनले बताइन्। 'भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो', उनले भनिन्, 'त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जालाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन्। उनले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्‍याउने बताइन्। 

मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन्। उनले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताइन्। 

'पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महशुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत मात्रै हुनसक्छ, एलपी ग्याँस लगायतका ऊर्जा भन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा खास गरेर एलपी ग्यास प्रयोग भएको छ, त्यसलाई विस्थापित गर्न यसले मद्दत गर्नेछ', भुसालले थपिन्, 'कृषिप्रधान देश तर हामी मौसममा भर पर्ने गरेका छौँ, सबै खेतीयोग्य जमीनमा सिँचाइ छैन, त्यसैले जहाँ खेतीयोग्य जमीन त्यहाँ सिँचाइ पुर्‍याउने नीति छ, सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर पनि हामी सिँचाइमा पुर्‍याउँदै छौँ।'

त्यसका लागि आफूले विद्युत महशुल न्यून गरेको उनको तर्क थियो। 'क्रमशः यसलाई निःशुल्क बनाउने सोचमा रहेको जानकारी गराउँछु, यसले कृषिको उत्पादन र उत्पादकत्व पनि बढाउनेछ, विद्युतको खपत पनि हुनेछ र अहिले डिजेल, पेट्रोलबाट पम्पसेट चलाएर सिँचाइ गर्ने चलनलाई यसले विस्थापित गर्नेछ', भुसालले भनिन्, 'उद्योगले भनेजति जलविद्युत पाउनुभएको थिएन, अब हामी जसले जति माग्छ पर्याप्त दिन तयार छौँ, हामीकहाँ फुलफेजमा चल्न पाउने, ऊर्जा खपत गर्ने उद्योग छन् भने नयाँ ढंगले आउन अपील गर्दछु। यातयातका साधनहरुलाई अब विद्युतीकरण गर्ने अर्को महत्वपूर्ण कुरा हो। अहिले विद्युतिय यातयातका साधनमा लागेको भन्सार दरलाई पनि न्यूनीकरण गरेर अब खरिद गर्ने गाडी विद्युतीय गाडीलाई प्रोत्साहन दिने नीति लिन्छौँ। तिनीहरुका निम्ति आवश्यक चार्जिङ लगायतका भौतिक संरचना, छिटो भन्दा छिटो सरकारले बनाएर विद्युतको ठूलो खपत यातायातमा हुनेछ।'

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्यासलाई विस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन्।