प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा पर्यटक भरिभराउ

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा पर्यटक भरिभराउ

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही कात्तिक पहिलो हप्ता धुलिखेलमा रहेको साहसिक खेल ‘जीपलाइन’ मा रमाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।

आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलमा रहेको जीपलाइन खेलमा रमाएका थिए । उनको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ । त्यति बेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए । अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ । 

‘पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ’ , वर्ल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने । उनका अनुसार त्यस दिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका थिए । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नगरपालिका ५ मा रहेको खावासम्म एक हजार एक सय मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम तीन प्रकारको खेल्न पाइन्छ ।

जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाइ नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ । त्यसो त गएको भदौ दोस्रो हप्तादेखि कोरोना सङ्क्रमण दर ओरालो लाग्दै गर्दा धुलिखेलमा रहेको होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रवार र शनिवार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनले बताए ।