काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामाको माग गर्दै आएका सर्वोच्च अदालतका ट्रेड युनियनहरूले उनलाई सर्वाेच्च प्रवेशमा रोक लगाउने भएको छ ।
प्रधानन्यायाधीशविरुद्ध १४ कार्तिकबाट पहिलो चरणको आन्दोलन सुरु गरेका कर्मचारीले चरणवद्ध आन्दोलन गर्ने जनाएका छन् । आज बसेको ट्रेड युनियनहरुको संयुक्त बैठकले तीन दिनभित्र राणाले राजीनामा नदिए अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
ट्रेड युनियनहरुको पछिल्लो निर्णयसँगै न्यायालयसम्बन्धी विवाद थप जटिल बनेको छ । युनियनहरुले प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यसअघि नेपाल बार एशोसिएशनले पनि राजीनामा नदिए अदालत प्रवेश गर्न नदिने बताएको थियो । अब १७ गतेसम्म प्रधानन्यायाधीशले राजीनामा नदिए उनको बाटो छेक्ने बारले जनाएको छ ।
यता प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आएको न्यायाधीशहरुले एक सातादेखि इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीशले ‘सम्मानजनक वहिर्गमन’को प्रस्ताव प्रधानन्यायाधीशले राखेपछि हिजो इजलासमा फर्किएपनि आज पुनः इजलास बहिष्कार गरेका छन् ।
प्रधानन्यायाधीशले आज संवैधानिक बाटोबाटै आफूले बिदा लिने बताएपछि असन्तुष्ट बनेका न्यायाधीशहरुले प्रधानन्यायाशीसले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
प्रधानन्यायाधीशले न्यायालयमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचार रोक्न नसकेको भन्दै उनको राजीनामा माग गर्दै आएका छन् ।