बेलायत । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला जलवायु विश्व सम्मेलन (कोप-२६) मा व्यस्त छन्। सम्मेलनस्थल ग्लास्गोमा उनलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सोमबार स्वागत गरे।
विश्व राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरुले भेटका क्रममा हात मिलाएनन् बरु कुहिनो ठोक्काए अनि नमस्कार गरे। कोरोना भाइरसको जोखिम अझै कम नभएको अवस्थामा नेताहरुले हात मिलाउनुको साटो अन्य विकल्प रोजेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग देउवाको जम्काभेट भएको छ। कोप सम्मेलन केन्द्रभित्र भिभीआईपी लाउन्जमा उनीहरुको जम्का भेट भएको हो। देउवाले साइडलाइन वार्ता भने मंगलबार गर्ने कार्यक्रम छ।
कोप-२६ सम्मेलनअन्तर्गत ग्लास्गोमा देउवाले विश्व नेताहरुको भेलालाई सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनको चुनौतीसँग लड्न नेपाली प्रतिवद्धता सुनाए। उनले सन् २०४५ सम्म नेपालबाट शून्य कार्बन उत्सर्जनको योजना सुनाए।