'सम्मानजनक बहिर्गमन'को लागि प्रधानन्यायाधीश जबरा तयार

'सम्मानजनक बहिर्गमन'को लागि प्रधानन्यायाधीश जबरा तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशमार्फत 'सम्मानजनक बहिर्गमन'को प्रस्ताव अगाडि सारेका छन्।  आइतबार जबराले आफूनिकट न्यायाधीश मनोज शर्मामार्फत आफूले ‘सम्मानजक बर्हिगमन’ चाहेको प्रस्ताव पठाएपछि आन्दोलनरत न्यायाधीश वार्ताको तयारीमा जुटेका छन् । 

जबराले अहिले दुई पक्षका बीचमा वार्तासमेत अवरुद्ध भएको र यसले निकास नदिने भएकाले वार्ता पनि जारी राख्न र आफ्नो बर्हिगमनको विकल्पहरु पनि सुझाउन न्यायाधीश शर्मामार्फत् प्रस्ताव पठाएका थिए । नेपाल बार एसोसियशनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमै कालो पट्टी बाँधेर आन्दोलनका कार्यक्रम सुरु गरेपछि थप दबाबमा परेका जबराले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेका हुन्।    

‘हामी आज जे भएपनि निकास दिने भनि छलफलमा थियौं,’ एक न्यायाधीशले नेपाल भने, ‘तर प्रधानन्यायाधीशले वार्ता जारी राख्ने र सम्मानजक बर्हिगमनको प्रस्ताव पठाएपछि तीन न्यायाधीशको वार्ता समिति बनाएर एक पटक कुरा गरौं भन्ने मनसायमा पुगेका हौं।’ 

प्रधानन्यायाधीश जबरासँग वार्ता गर्नका लागि न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको वार्ता टोली बनाइएको छ। आन्दोलनरत न्यायाधीशहरुको वार्ता टोलीले आइतबार नै प्रधानन्यायाधीशसँग पहिलो चरणको छलफल गरेको छ। आइतबारको छलफल कुनै निष्कर्षमा नपुगेको एक न्यायाधीशले जानकारी दिए। सोमबार बिहान फेरि छलफल हुने जानकारी प्राप्त भएको ती न्यायाधीशको भनाइ छ।