मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेवी)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुुनुपर्ने माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । उनले नजिकिएको चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्नाले जनताको ढाड सेकिने काम भएको धारणा व्यक्त गरेका छन् । 

“पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गर्दछौँ” विज्ञप्तिमा भनिएको छ । 

नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसङ्घले कडा आन्दोलन गर्ने जनाएको छ ।