काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेका कारण संसद बैठक एक सेकेण्ड पनि अवरुद्ध नभएको दाबी गरेका छन् । एमाले संसदीय दलको बैठकमा बोल्दै नेता नेम्वाङले आफुहरुका कारण संसदको एक सेकेन्ड पनि कुनै काम नरोकिएको दाबी गरेका हुन् ।
‘हाम्रा कारणले संसद्को काम कारबाही रोकियो भन्ने प्रचार गरिँदैछ । हामीले पठाएका पत्र सभामुखले १३ दिन अध्ययन गर्नु भयो । तर १३ दिनपछि नयाँ पार्टी गठन भइसकेकाले कारबाही गर्नु नपर्ने भनेर निर्णय गर्नुभयो,’ उनले भने, ‘सदनमा विरोध गर्नु हाम्रो रहर होइन, बाध्यता हो । हाम्रा कारणले कुनै काम एक सेकेन्ड पनि रोकिएको छैन ।’
सभामुख अग्नि सापकोटाले सदनमा आफूहरुप्रति भेदभावपूर्ण व्यवहार गरेको बताए । सर्वोच्च अदालतबाट संसद् पुनःस्थापित भइसकेपछि संसद्ले सिन्कोसमेत भाँच्न नसकेको उनको भनाई छ ।