चार पूर्वप्रधानन्यायाधीशले पनि मागे जबराको राजीनामा

चार पूर्वप्रधानन्यायाधीशले पनि मागे जबराको राजीनामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने समूह दिनप्रतिदिन बढिरहेको छ । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन् । सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर चारजना पूर्वप्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश जबराका कारण अहिलेको समस्या निम्तिएको भन्दै बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् ।

'सहकर्मीहरू बीचको विश्वास भत्कन दिनु, न्यायिक प्रकृया आफ्नो प्रकृति अनुरूप सुचारु राख्न कोशिस नहुनु, आफ्नो छविको कारण समग्र न्यायपालिकाले नै अपारदर्शी र अविश्वसनीयताको भार बोक्नुपर्ने परिस्थिति यथावत रहन नदिने हो र त्यसको स्वीकार्य समाधान अविलम्ब खोज्ने हो भने न्यायपालिका, कानुन प्रणाली, प्रजातन्त्र र राष्ट्रको लागि वर्तमान नेतृत्वले जो चाहिने त्याग गरेर भए पनि मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ,' विज्ञप्तिमा भनिएको छ ।

न्यायिक निर्णय गर्दा अन्य निकायसँग स्वार्थको सौदा गरेको भन्ने विवादको कारणबाट आफूसँग निर्णयमा संलग्न सहकर्मी न्यायाधीशहरूको निष्ठा र निष्पक्षतामा समेत प्रश्न उठ्ने अवस्था आएको उनीहरूको भनाइ छ । 

विज्ञप्तिमा प्रधानन्यायाधीशको कार्यसम्पादन स्तर, व्यवहार र चरित्रबारे पछिल्लो समय सार्वजनिक भएका शंका र चिन्ताले न्यायपालिकाको विश्वसनीयता र आस्थाको जग हल्लाउन पर्याप्त रहेको पनि भनिएको छ ।