किन प्रचण्डको गृह जिल्ला नै रोजे ओलीले एमालेको महाधिवेशन स्थल ?

किन प्रचण्डको गृह जिल्ला नै रोजे ओलीले एमालेको महाधिवेशन स्थल ?

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि मंसिर १० देखि १२ गतेसम्म हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

महाधिवेशन आयोजना र व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, देवी ज्ञवाली लगायतका सदस्यहरू रहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यसअघि महाधिवेशन बुटबलमा गर्ने तय भएको थियो । 

यस्तै बैठकले दशैं लगत्तै परेको पानीका कारण आएको बाढी, पहिरो र डुवानबाट मृत्यु भएका र प्रभावितहरूप्रति दुःख व्यक्त गरेको छ । त्यस्तै, धान बालीमा भएको क्षतिबाट किसानमा पर्न गएको पीडामा मल्हम लगाउन तत्काल राहतका प्याकेजहरू ल्याउन पनि सरकारसँग आग्रह गरेको छ । साथै क्षति भएका भौतिक संरचनाको तत्काल पुनर्निमाण गर्न पनि माग गरेको छ ।