बाढी पहिरोमा कारण डोटीमा ८ जनाको मृत्यु

बाढी पहिरोमा कारण डोटीमा ८ जनाको मृत्यु

अविरल वर्षाका कारण सुदूरपश्चिममा बाढी र पहिरोले मानिसको ज्यान लिन थालेको छ । मंगलबार मात्रै डोटी जिल्लामा बाढी, पहिराका कारण आठ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अर्का एक जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार बाढी, पहिरोमा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का  शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन् ।

त्यस्तै बर्षाका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उनका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन ।

यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा अन्दाजी १५÷२० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित बासस्थानका लागि स्थानीय दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
रासस