माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, आफ्ना मन्त्रीलाई निर्देशन दिन छुट्टै संयन्त्र बनाउने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, आफ्ना मन्त्रीलाई निर्देशन दिन छुट्टै संयन्त्र बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्र पुस दोस्रो साता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। उक्त सम्मेलनबारे छलफल गर्न नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा छलफल गरिरहेका छन्। सोमवार बसेको बैठकमा पनि सम्मेलनबारे छलफल भए पनि कुनै निर्णय भएन। 

पार्टी सदस्यता नवीकरण र स्थानीय तथा प्रदेश तहमा पनि माओवादीले सम्मेलन गरिरहेको छ। माओवादीको संगठन विभागले तयार पारेको प्रतिवेदनमा ३० लाख पार्टी सदस्य पुर्‍याउने महत्वकांक्षी योजना छ।

आजको बैठकमा सम्मेलन र सरकार सञ्चालनका लागि पार्टीले बनाउने संरचना बारेमा निर्णय हुने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। सरकार सञ्चालनका लागि माओवादी केन्द्रले आफ्ना पार्टीका मन्त्रीलाई निर्देशन दिन छुट्टै संयन्त्र बनाउन लागेको हो। 

माओवादी केन्द्रका सरकारमा ६ जना मन्त्री छन्। गठबन्धन सरकारले सरकार सञ्चालनका लागि न्युनतम कार्यक्रम बनाएको भए पनि माओवादीले संरचना बनाउन लागेको हो।