उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत

उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। मन्त्री हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्।

हमाल मन्त्री बनेपछि आलोचना भइरहेको थियो। हमाल गत असोज २२ मा मन्त्री बनेका थिए। ‘प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसको विभिन्न पदमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका छन्। हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशिल थिए। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन्।

हमाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठान पनि हुन्। यो विषयलाई लिएर प्रधानन्यायाधीशको चर्को आलोचना भएको थियो ।