काठमाडाैं । नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनको मतपरिणाम आउन थालेको छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पौडेल पक्षको कडा टक्कर देखिएको छ । प्रारम्भिक पतपरिणामलाई हेर्दा महाधिवेशनमा पनि दुई समूहबीच तीब्र प्रतिष्पर्धा हुने देखिन्छ ।
सार्वजनिक परिणामअनुसार ५ सय ७ पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंह लगायत पक्षका भने २ सय ४९ जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।
प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल–कोइराला पक्षले ६३ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।
बागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ४० स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् । त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका ४६ जनाले पालिकाको सभापतिमा जित हासिल गरेका छन् ।
लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशन भएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने ४८ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् । कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्य देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ ।
सुदूरपश्चिम प्रदेशका सम्पन्न ७७ पालिका अधिवेशनमा देउवा पक्ष ५५ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने २७ ठाउँमा मात्रै जितेको छ । समग्र मतपरिणाम हेर्दा पौडेल पक्ष उत्साहि देखिए पनि सभापतिको लागि साझ उम्मेद्वार तय गर्न नसक्दा केन्द्रमा संसय कायमै छ ।