जसपाको भागमा चार मन्त्रालय, मन्त्री टुंगो लगाउने तयारी

जसपाको भागमा चार मन्त्रालय, मन्त्री टुंगो लगाउने तयारी

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाको भागमा चार वटा मन्त्रालय परेको छ । 

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार गठबन्धन दलका शीर्ष नेतासँग भएको भागवण्डामा जसपाले चार मन्त्रालय पाएको हो ।

तर औपचारिक रुपमा भने मंगलबारै सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले जानकारी गराए । उनले आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति सत्तारुढ गठबन्धन दलसँग भएको बताए । 

चार मन्त्रालय पाएको जसपाले कुन मन्त्रालयमा कसलाई मन्त्री पठाउने भन्ने अझै टुंगो लगाएको छैन । बैठकले पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको टुंगो लगाउन आफूलाई नै जिम्मेवारी दिएको समेत बताए । 

सरकार गठन भएको तीन महिना हुन लाग्दासमेत मन्त्रिपरिषद गठन हुन नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए । आज विहान बसेको गठबन्धन सरकारका शीर्ष नेतृत्वबीचको छलफलपछि मन्त्रालयको भागवण्डा मिलेको छ भने मन्त्रिपरिषद्ले बिहीबारसम्म पूर्णता पाउने बताइएको छ ।