सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी, मन्त्रालयको भागबण्डा टुंग्याउने तयारी

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी, मन्त्रालयको भागबण्डा टुंग्याउने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ । मन्त्रालय भागवण्डामा सहमति नजुटेपछि समाधान खोज्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउने बताइएको छ ।

सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।

खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरिरहेको बुझिएको छ । गत आइतबार गठबन्धनका शीर्ष नेताको बैठकपछि आज मात्र गठबन्धन कार्यदलको बैठक बसेको हो । योबीचमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी भएकाले शीर्ष नेताहरुको बैठक बस्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि अझै मन्त्रालयको भागबण्डा मिलेको छैन । 

कार्यदलमा सहमति जुटेमा जान नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।