एमालेको विधान महाधिवेशनमा टोली नेताद्वारा सुझाव पेस गर्न सुरु

एमालेको विधान महाधिवेशनमा टोली नेताद्वारा सुझाव पेस गर्न सुरु

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि विभिन्न १० समूहमा छलफल भएको थियो । 

आज दिउँसोदेखि १० वटा समूहका टोली नेताले आ–आफ्नो समूहको सुझाव र निष्कर्ष राख्न थालेका छन् । नेताहरुले एमालेलाई व्यक्तिवादी भन्दा सङ्गठनात्मक बनाउनुपर्नेमा जोड दिएका छन् । केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहका नेता भानुभक्त ढकालले एमालेमा व्यक्ति भन्दा पार्टीगत नेतृत्व र नीति प्रमुख हुनुपर्ने बताए । पछिल्लो समय सिद्धान्तको राजनीतिलाई कम महत्त्व दिएको, नेतृत्वले नजिकका व्यक्तिलाई मात्रै हेरेको लगायतका समस्या एमालेमा देखिएको भन्दै नेता ढकालले अहिलेको शैली परिवर्तन गर्नुपर्ने बताए ।

यस्तै केन्द्रीय निकाय र केन्द्रीय विभागले उपमहासचिव पद नहटाउन सुझाव दिएको छ । यस्तै, वाग्मती प्रदेश समूहका नेता आनन्द पोखरेलले पनि एमालेमा व्यक्ती भन्दा पनि समूहगत निर्णय महत्त्वपूर्ण हुनुपर्ने समूहको निष्कर्ष सुनाए। आज सुझावका आधारमा भोलि राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।